के मृत्युदण्डले बलात्कार कम होलात् ?
  • आर.एम. सम्बाददाता

नारीको जहाँ पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्। यस्तो प्राचीन आदर्श बोकेको दक्षिण एसियाली समाजमा करणीका घट्ना पछिल्लो दशक विस्तारै बाहिर आउन थालेका छन्।

ह्वात्तै बढेको विश्लेष्णचाहिँ सही होइन। कमजोर सधैं तल पर्ने शक्ति सिद्धान्तमा आधारित मानव समाजमा महिला, युवती र बालबालिकामाथि यौनजन्य हिंसा हिजो पनि थिए र आज पनि जारी छ। विशेष गरी दक्षिण एसियामा चर्को छ।

केही समयअघि भारतको बिहार मुजफ्फरपुरमा एक बालिका संरक्षणगृहका प्रमुखले वर्षौंदेखि आश्रमका ३४ कलिला बालिकालाई निरन्तर बलात्कार गरी यातना दिँदै आएको तथ्य खुल्यो।

ब्रजेश नामक ती आरोपी स्थानीय ३ पत्रिकाका मालिक र जग्गा व्यवसायी समेत हुन्। दर्जनौं बालबालिकालाई बलात्कार गरेका घट्ना वर्षौंसम्म लुक्नुले समाजका धेरैजसो घरभित्र शारीरिक र मानसिक बलात्कार भइरहेको प्रष्ट हुन्छ। तर, ढोकाभित्र हुने यी त्रासदपूर्ण तथ्य कसले संकलन गर्ने? बलात्कारका खास कारणबारे खोतल्दै त्यसलाई कसले हटाउने र समाजलाई हिंसामुक्त बनाउने?

भौतिक रूपमा देखिने गरी एकाध हिंसाका घट्ना बाहिर आएपछि त्यसले सामाजिक सञ्जाल र चिया गफका टेबलमा बहस, क्षणिक आक्रोश, उत्तेजना र उत्ताल सिर्जना गर्छ।

भर्खर जन्मेका शिशुकोसमेत करणी भएका घट्नामा मान्छेहरू सामाजिक सञ्जालमा तातो आक्रोश पोख्छन्– अपराधीलाई झुण्ड्यार मार्नुपर्छ। आक्रोश र उत्तेजनामा बलात्कारीलाई फाँसी दिने कुरा उठ्नु स्वभाविक हो। तर, एक क्षणका लागि अपराधीको भौतिक समाप्ति उचित लागे पनि हिंसाको समाधान फाँसी नै हो त?

कठोर कानुन र कार्यान्वयन बलात्कार नियन्त्रणका लागि सशक्त साधन अवश्य हो। तर, फाँसी दिनेजस्ता कुराले बलात्कारको अन्तर्य पहिल्याउन सक्दैनन्।
बलात्कार बारेका अनेक सामाजिक, आर्थिक र सांस्कृतिक बहसबाट मैले बुझेको कुरो हो– बलात्कार हाम्रै समाजको विषालु अर्गानिक उत्पादन हो। र, समाजमा प्रत्येक दिन घट्ने यो हिंसाका अनेक कारण छन्।

संस्कार/प्रचलनः

नारीको पूजा हुने ठाउँमा देवीदेवता घुम्छन् भन्ने आदर्श बोकेको समाजले देवी युगकी नायिका दुर्गाको आराधना गरे पनि अन्य विरलै नारीलाई नायक बनाएको छ।

पुराणहरूमा महिला केवल पुरूषका दासी, अर्धांगिनी र भोग्या छन्। विष्णुले कपट गरी वृन्दालाई बलात्कार गरेका छन्, शिवले छल गरी सात वर्षकी बालिकालाई गर्भिणी बनाएका छन्। सीताले रामलाई सतित्वको परीक्षा दिनुपरेको छ।

स्वर्गको राजा इन्द्रले गौतम नामक ऋषि पत्नी अहिल्यालाई करणी गरेका छन्। तर, बलात्कारी इन्द्रको आजपर्यन्त पूजा भइरहेको छ जबकि पुराणलाई स्वीकार्ने हो भने चरित्रहिनको आरोपमा अहिल्या निर्जन वनमा बस्न बाध्य पारिइन्।

चन्द्रले देवगुरू वृहस्पतीकी पत्नी जुहुलाई बलात्कार गरे, चन्द्र दण्डित भएनन्। जुहु नै चरित्रहिन ठहरिइन् र बहिस्कृत भइन्। उसो त वृहस्पती स्वयं बलात्कारी थिए। उनले आफ्नी भाउजु ममतालाई बलात्कार गरेका थिए। तर, पुराण र शास्त्र पुरुष सत्ताले लेखेका हुनाले यस्ता करणीलाई करणी भनेन। महिलाहरूलाई चरित्रहिन भनिदियो, बस्।

धेरै पर जानै पिर्दैन, हाम्रै आमा या हजुरआमा पुस्ताको बिहे छ/सात वर्षको कलिलो उमेरमा भयो। जबकि हजुरबाउहरू विवाहको मण्डपमा बस्दा पच्चीस–चालिसको हुने गर्थे।

पुराणमै सात वर्षकी बालिकाको बिहे सत्तरी वर्षको बुढासँग गराइदिएपछि बाँकी समाजले बालिकामाथि जस्तै हिंसा गरे पनि त्यो सहजै स्वीकार्य हुने नै भयो।
त्यो सहजै संस्कार र प्रचलन बन्यो। ‘काउली कलिलो होस् कि छिप्पेको, आखिर तरकारी’ भनेजस्तै स्त्री भए भइगो, बच्ची, युवती होस् या वृद्धा। भारतका कतिपय गाउँमा वृद्धहरूले बालिका बिहे गरेका खबरहरू अहिले पनि त सुन्न पाइएकै छ।

काठमाडौंसँगै जोडिएको कागती गाउँमा केही वर्षअघिसम्म बालबिबाह जारी थियो। संरक्षणका लागि खोलिएका आश्रम गृहमा दर्जनौं बालिका दैनिक बलात्कारमा पर्ने समाजमा बाउआमाले अर्घ्य दिई ‘कन्यादान गराइएकी’ बालिकामाथि कतिसम्मको हिंसा होला, कल्पना गर्न सकिन्न।

पुराण, संस्कार र संस्कृतिले महिलालाई दोस्रो, कमजोर, भोग्या, अवला र दयाको पात्र र दान दिइने वस्तुका रूपमा उल्लेख गरेपछि तिनको ‘उपभोग’ सहज भयो।

नेपाली समाजमा चलेको पोथी बास्ने, छोरीको जन्म, हारेको कर्म र छोरी मरी, बडाघर परीजस्ता आहान त्यही संस्कारको उपज हो। हामी त्यही संस्कारमा लिप्त भएर होला, अहिले पनि बाउआमाहरू छोरी पाउनुभन्दा छोरा पाउन धेरै रहर र प्रयत्न गर्छन्।

गर्भमै छोरी मार्ने वैधानिक धन्दा नेपाली बजारका चोकचोकमा चलेका छन्। फरक लिङ्ग भएकै कारण छोरीहरू सहजै मारिन्छन्। छोरो पाउन अनेक विधि, तन्त्र र टुनामुनाका पछि लागिन्छ। पुरूष चिन्तनले ग्रस्त राज्यको प्रशासन गर्भकी छोरी मार्दा त्यसविरुद्ध लाग्दैन।

समाजमा भाले जाति नै श्रेष्ठ हो भन्ने मान्यता यसरी गडेको छ कि यत्र, तत्र र सर्वत्र भालेकै महिमा मण्डन छ। पुराण र शास्त्रहरूले ‘न्युट्रलाइज’ गराएका कारण धेरै महिलाले आफू हेपिएको या आफूमाथि समाजले गरेको दुव्र्यवहारको वोध नै गर्दैनन् ।

महिनावारीलाई श्राप ठान्ने समाजले सांस्कृतिक पर्वहरूमा महिलाहरूमाथि दुव्र्यवहार पनि गरेकै छ। बाजे र ‘घरमालिक’ले संचालन गर्ने पूजा र अनुष्ठानमा सहभागी हुन ‘नछुने’ हुन नहुने फर्मान जारी छ।

नाकबाट बग्ने सिंगान, मुखबाट निक्लने र्‍याल र पुरुषको गाला तथा ओठमाथि सहजै पलाउने दारीजुँगाजस्तै महिलाको अर्को स्वभाविक शरीर धर्मलाई अछुत बनाएर महिलामाथि खासगरी खसआर्य समाजमा हिंसा गरिएको छ।

मासिकश्रावकै कारण महिला मण्डप, पूजा, आरधना आदिमा पनि केवल पूजक छन्। मण्डपमा बस्ने, पुराण बाच्ने र त्यसलाई महिला हित अनुकुल व्याख्या गर्ने अवसर तिनलाई छैन। एकाध अपवाद अवश्य छन्। तर, अपवाद भनेको मःमजस्तै हो, बाहिर ५ प्रतिशत पिठो, भित्र ९५ प्रतिशत किमा।मण्डपमा ठाउँ नपाउने संस्कारकै निरन्तरतास्वरूप पाइन्ट, कोट र धोती लगाउनेहरू नै हरेक पार्टीका मण्डपका हर्ताकर्ता छन्, महिला त कार्यकर्ता मात्र छन्।

किनभने नेतृत्व भनेको भाले जातिले गर्ने हो भन्ने मानसिकता महिला–पुरुष प्रायः सबैमा छ। त्यसैले छ्यास्स लोकाचारका लागि एकाध ठाउँमा महिलालाई टेको लगाएर उठाइए पनि तलैबाट विरलै कुनै परिवार, समाज र राज्यले महिलालाई नेतृत्वको अवसर दिएको छ।

‘पराईको पोल्टोमा जाने’ जातमाथि यसरी युगौंदेखि जातीय विभेद गरिएको छ। आफ्नो अतिप्रिय आफन्त–सन्तानको मृत्युमा खासगरी हिन्दु–सनातनी समाजमा मलामी जान आज पनि प्रतिबन्धजस्तै नै छ । यद्यपि, शहरीकरण बढेसँगै शहरबजारका घाटमा केही महिलाहरू अचेल जन्त र मलाम जाने प्रयास गर्दै छन्।

चलचित्रका दृश्यले बलात्कारलाई मसलाका रूपमा प्रयोग गर्ने गरेको छ । ‘ढिन्टिडिँ ढिन्टिडिँ’ संगीत बजाउँदै महिलाको कपडा च्यात्दै महिलालाई नंग्याउने दृश्य आज पर्यन्त छ। यसरी सांस्कृतिक रूपमै महिलालाई कमजोर र उपयोग गरिने वस्तुका रूपमा चित्रण गरिएका कारण त्यही चिन्तनले नै महिलामाथि युगौंदेखि बलात्कार गरिराखेको छ।

दोबाटो छेउमा फलेको आँप जसरी बटुवाबाट जोगिन सक्दैन, त्यस्तै हामीले उमारेको महिलाविभेदी संस्कृतिकै कारण आमा दिदी, बहिनी र छोरीहरू वलात्कृत भइरहेका छन्। ती जोगिन सकेका छैनन् । यता, कसैमाथि यौनहिंसा हुने विषयलाई मिडिया र फिल्मले पनि ‘अस्मिता र इज्जत लुटिएको’ भन्दै भजाउने गरेका छन् जबकि यौनहिंसा केवल एउटा अर्को हिंसा हो।

कुनै व्यक्ति कुटिँदा कुटिनेको के लुटिन्छ? यौनहिंसा पर्ने व्यक्ति अन्य हिंसामा जस्तै शारीरिक र मानसिक रूपमा पीडित हुनेहुन्। हिंसा हुनु कसैको इज्जत र अस्मिता लुटिनु होइन। एउटा व्यक्तिले बलजफ्ति अँध्यारो कुनामा लगेर गरेको कायरतापूर्ण अपराधले कुनै व्यक्तिको अस्मिता र इज्जत जीवनभर गुम्छ?

कुण्ठा/स्वतन्त्रताः

विज्ञान भन्छ, प्रत्येक कृयाकलापका खास कारण हुन्छन् । मिहिन ढंगले खोतल्ने हो भने जस्तोसुकै रहस्यको पनि कारण पत्ता लाग्छ। र, बलात्कारको अर्को कारण हो कुण्ठा।

यौन स्वाभाविक हो र दक्षिण एसियाली समाजले यौनलाई अति जटिल र सर्वसाधारणका लागि प्रायः अप्राप्य बनाइदिएको छ। स्वभाविक मानवीय चाहनालाई रोकिदिएपछि हुन्छ के? हुनेखाने–सम्पन्न र सवल परिवारका व्यक्ति त पैसा, शक्ति र पहुँच प्रयोग गरी मन र शरीरले चाहनेवित्तिकै शरीर शुख भोग्लान् तर, अन्यले गर्ने के? त्यसमाथि आजको प्रविधिको युगमा जतिसुकै बन्द समाजमा पनि यौन विषयवस्तु समेटिएका चलचित्र उपलब्ध छन्।

बलात्कार र शरीर शुखलाई नै केन्द्र बनाइएका यस्ता फिल्म हेरेका पुस्ताले सहजै सहवासको साथी नपाउँदा के गर्छ? फेरि मनोविज्ञान भन्छ, जुन कुरा प्राप्य छैन त्यसको तृष्णा बढी हुन्छ। महिला, युवती र किशोरीलाई बाहिर जान, घुम्न र डुल्न प्रतिवन्ध गरिएको समाजमा हुर्केका पुरूषले महिलासँगको भावनात्मक र शरीर निकटता बिरलै पाउँछ।

यस्तोमा महिला र पुरुष दुवै कुण्ठामा हुन्छन्। दुवै कुण्ठामा हुने भए पनि किन महिलामाथि मात्रै हिंसा हुन्छ? किनभने महिलामाथिको हिंसा शारीरिक र सामाजिक रूपमा पुरुषलाई सहज छ।

हिंसापछि पुरुषलाई गर्भ रहने डर छैन। हिंसा गरेकै कारण समाजले उसलाई बहिस्कार र निन्दा गर्ने डर छैन। त्रास त ‘तरूनी भएकै कारण’ छोरीहरूलाई छ। रजस्वला रोक्ने औषधि बजारमा सहजै पाइएजस्तै छोरीलाई युवती हुन रोक्ने औषधि पाइए साँच्चै कति किन्दा हुन् किशोरीहरूका बाउआमाले? ‘उनकै छोरी तरूनी, हामीलाई केको डर?’

शरीर, आत्सम्मान र स्वतन्त्रताको विषयमा हाम्रो समाज कतिसम्म निम्छरो छ भने आफ्नो लोग्ने या श्रीमतीलाई एक क्षण अर्को कोही विपरित लिङ्गीसँग साथै देख्नै सक्दैन। स्वस्थानीमा शिवको अमोघ रतीकृडा र विर्यपानका समेत वखान सुन्ने तर दुई अलग व्यक्तिसँगै हुनेवित्तिकै त्यहाँ यौनकार्य भइहाल्छ भनेर त्रस्त हुनुपर्ने कस्तो ‘सिक’ समाज?

मन्दिरका टुँडालमा यौनआसनका चित्र राख्ने तर, एउटी युवतीले पेटिकोट लगाएर प्रदर्शन गर्दा आतंकित हुने कस्तो समाज बनायौं हामीले? यसो भएपछि हुर्केकी छोरी, स्वास्नी, बुहारी र नातिनीहरूलाई सधैं अर्को पुरूषबाट सुरक्षा दिइरहनुपर्ने! दाइले भाउजु जोगाउनुपर्ने, भाईले बुहारी। स्वास्नीमाथि आफ्नै बाउको यौनदृष्टि पर्ला भनेर छोरो सजग हुनुपर्ने! अनि ‘सुरक्षा दिनको लागि खटिने’ त्यही कुण्ठित बाउ/दाजुभाइ र आफन्तले नै छोरीचेलीलाई समेत बलात्कार गर्ने!

प्रतिवन्धले मान्छेलाई हिंस्रक बनाउँछ। स्वतन्त्रताले जिम्मेवार। खाना पकाउनेलाई बास्नैले पुगेजस्तै किशोर–किशोरी र युवक युवतीका सहज भेटहरूले उनीहरूले यौन र यौनिकता बुझ्न पाउँछन्। जति धेरै विचार र व्यक्तिहरूसँग हेलमेल भयो, मान्छे उति धेरै सवल, सक्षम, फ्लेक्स्बिल (सहज) हुन्छ।

आफू अनुकुल गोप्य र वैधानिक ठाउँमा समय बिताउन गएका जोडीलाई प्रहरीले पक्रने र अपराधी करार गर्ने कुराले त समाजलाई झनै तालिवानी बनाउँछ।
महिला –पुरुषको हेलमेल अति नै कम हुँदा त्यसले कुण्ठा जन्माउँछ, हिंसा बढ्छ। पुरूष त फुक्काफाल जहाँसुकै जान पाएका छन्। महिलाको स्वतन्त्र घुमफिरको अधिकारलाई राज्य, समाज र परिवारले सम्मान गरे महिला हिंसाका घट्ना कम हुन्छन्। खासमा महिला स्वतन्त्रताले धेरै हदसम्म यस्ता अपराध घटाउँछ ।

बजारीकरण/उपभोक्तावादः

लुगाफाटो, औषधिलगायत हरेक सामान बेच्न महिलाकै मुहार र देह देखाउनु फेरि पनि महिलालाई वस्तुझैं ट्रिट गर्नु हो। जबकि, वर्षौंदेखि चल्दै आएको हुनाले हामीले पनि यसलाई स्वाभाविक ठानेका छौं।

पुराणहरूले ठूला आँखा, छिनेको कम्मर र उचालिएको नितम्ब भएकी स्त्रीलाई सुन्दरीका रूपमा वर्णन गरेजस्तै बजारले सुन्दर युवतीको स्वभाव र गुणहरू तोकेको छ। महिलाको निम्ति सजिने, लगाउने, दल्ने र खाने अनेकन कृतिम उपभोग्य वस्तु सिर्जना गरिएका छन्। अर्बौं डलरको कस्मेटिक प्रसाधन दैनिक खपत हुँदैछ।

कानुन र कार्यान्वयनः

बलात्कारसम्बन्धी ऐनमा यस विषयलाई ‘जर्वजस्ती करणी’ (जजक) उल्लेख छ। कानुनमै त्रुटीपूर्ण शब्द भएपछि प्रहरी र प्रशासनले त्यही शब्द बोल्ने र छाप्ने गर्नु कुनै अस्वभाविक भएन।

तर, करणी भन्नेवित्तिकै त्यो जर्वजस्ती नै हुन्छ। राजीखुसी करणी र जर्वजस्ती करणी भन्ने हुन्न। यसरी समाजको चरित्र कानुनमा समेत प्रतिविम्वित भएको छ। मानौं राजीखुसी पनि करणी हुन्छजस्तो! त्यसैगरी बलात्कारमा दोषि ठानिएका व्यक्तिलाई कारबाही गर्ने सवालमा उमेर अनुसार फरक दण्ड व्यवस्था गर्नुले पनि अव्यक्त रूपमा बलात्कारलाई समर्थन गरेको भान हुन्छ।

हिंसा आखिर हिंसा हो। उमेर बढेका स्त्रीको बलात्कारमा कम सजाय व्यवस्था हुनुले युवतीहरू बलात्कारका लागि योग्य भएजस्तो भान पर्छ। यसरी हाम्रा सोच कानुनमै प्रतिविम्वित छन् र कानुन कार्यान्वयनमा पनि महिलाको मर्का बुझ्न सक्ने महिला कम पुगेका छन्।

एकाध महिला कानुन कार्यान्वयनको ठाउँमा पुगे पनि तिनमा सदियौंको भाले चिन्तन नै हाबी छ। ‘मर्ने बेलामा पानी खुवाउने त छोरै हो’ र यो सम्पत्तिको मालिक त छोरै हो’ भन्ने सोच छ। महिलालाई अलग व्यक्तिका रूपमा भन्दा पनि लिंग, भोग र बच्चा उत्पादनको साधनका रूपमा बुझिँदा कानुनका शव्दावली पनि त्यस्तै विभेदी छन्।

बाउले, दाइले, काकाले, मामाले, मितबाउले हजुरबाउले मात्रै नातिले पनि करणी गरेका घट्ना बेलाबेला समाचार बनेर आउँछन्। तर, यौनलाई अतिसय घिनलाग्दो चित्रित गरिएको हाम्रो समाजमा छोरीहरूले आफ्नै बाउले आफूमाथि गरेको हर्कतविरुद्ध के भनेर बोलुन् ? बाउ या आफन्तले गरेको यौंन अपराध सार्वजनिक गर्नु कम चानचुनै छैन।

घट्ना सार्वजनिक नगरौं, सधैंको हिंसा, गरौं त परिवार र समाजसँगको सम्वन्धमा पूर्णविराम। अस्तिसम्मको प्यारो जन अब भोलिबाट भयंकर शत्रु, आजन्म शत्रु। शत्रुता मोल्ने कुरो मात्र रहेन, भोलिबाट छिमेकी, आफन्त र समाजसँग झेल्नुपर्ने प्रश्न! आफूमाथि गरिएको हिंसा सार्वजनिक गरे आफ्नै इज्जत जाने अनौठो समाज। यही ‘इज्जत’ र ‘चरित्र’का कारण पनि कतिपय विषय प्रहरी प्रशासनमै पुग्दैनन् । अँध्यारो कोठाभित्र यसरी न्याय पिल्सिरहन्छ।

बानी र युगौंदेखि पोषित मनको विचार/संस्कार/सोच हटाउन अति कठिन हुन्छ। तिनको निर्माण र विकासमा उत्तिकै धेरै समय लागेको हुन्छ। बलात्कार पनि यही समाजको विषालु उत्पादन हो।

अर्जुनले महाभारतको युद्वमा सामेल सबैलाई वान्धव र आफन्त देखेजस्तै यस अपराधमा संलग्न वलात्कारी र वलात्कृत दुवै हाम्रा आफन्त हुन्। यस्तोमा एउटा व्यक्ति र पुरुष जनेन्द्रीयलाई मात्र दोषि देखाएर बलात्कारका घट्नाबाट हामी सरक्क उम्कन पाउन्नौं।

बलत्कार र बलात्कारी हाम्रै समाजको उत्पादन भएकाले त्यसको दोष बलात्कारीलाई मात्रै दिनु सोह्रै आना गलत हो। बीच बजारमा एउटा पेटिकोट देखेर तर्सिने समाजले अझै कति कहालिलाग्दा कुण्ठाजनित हिंसा भोग्नुपर्ने हो थाहा छैन तर समाजलाई खुला, जिम्मेवार र स्वतन्त्र बनाउन सकियो भने बलात्कारका घट्ना विस्तारै घट्छ। बलात्कारको कारक सोच हिजोदेखि जकडिएको आमा, दिदीबहिनी, छोरी र बुहारीहरूप्रतिको सोच हो। मृत्युदण्ड दिएर यौनहिंसा समाधान हुन्न।

साभार सेतो पाटि

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य