यस कारण बिग्रन्छन् छोराछोरी ? सबै आमाबुवाले एक पल्ट पढनै पर्ने पाठकको सल्लाह
  • आर.एम. खबर

प्रायः सबै आमाबुवाको सपना हुन्छ छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । विदेश पठाउने । समाजमा उदाहरणीय बनाउने र आफूले पनि उच्च दर्जा पाउने । तर, यस्तो सपना सबैको कहाँ पूरा हुनसक्छ र ? आमाबुवा सपनाको जालो बुन्दाबुन्दै छोराछोरीले बाटो बिराएको पत्तै पाउँदैनन् । कोही आफ्नो बेवास्ताका कारण केटाकेटीलाई मार्गदर्शन गर्न नसकेको बाध्यताको गुनासो गर्छन्, कोही आवश्यकभन्दा बढी विश्वास र आवश्यकता परिपूर्ति गर्ने क्रममा विश्वासघातमा परेको पीडा पोख्छन् । कोही उमेर र स्वभावअनुसार आफ्ना केटाकेटीलाई हुर्काउने सूत्र नजानेको यथार्थ स्वीकार्छन् ।

गुनासोहरू सुन्दै जाने क्रममा यस्तो लाग्छ, कतै आमाबुवाले आफ्ना केटाकेटीको भविष्यप्रति राजनीति त गरिरहेका छैनन् ? अथवा आफ्ना असन्तुष्ट र मनोकांक्षालाई परिपूर्ति गर्ने माध्यमका रूपमा गरिने व्यवहारले सम्बन्धलाई चिस्याउँदै लगेको त होइन ? ”हरेक दिन आफ्ना केटाकेटीसँग समय बिर्छ । उनीहरूको कुरा सुन्ने र भावनालाई बुझ्ने गर्नुपर्छ । उमेरअनुसार आफ्नो सम्बन्ध स्थापित गर्नुपर्छ । गाली, धम्की र नकारात्मक टीकाटिप्पणी गर्नुभन्दा हौसला दिने, माया दिने ताउनुपगर्नुपर्छ ” एउटा नवजात शिशु किशोरावस्थासम्म आइपुग्दा उतारचढाव खेपिसकेको हुन्छ । विद्यालय जाने, पढ्ने, साथी बनाउने र संगत गर्ने, विभिन्न मानिस र परिस्थितिसँग समायोजन गर्ने, सामाजिक संस्कार र अनुशासन बुझ्ने र जिम्मेवारी निर्वाह गर्ने इत्यादि । तर, नेपालको सन्दर्भ हेर्ने हो भने किशोरकिशोरी आफ्नो जीवनमा सिक्नुपर्ने र विकास गर्नुपर्ने सीपहरूप्रति खासै संवेदनशील बनेको पाइँदैन ।

त्यस्ता सीपप्रति आमाबुवाले पनि खासै चासो राखेको पाइँदैन । धेरै पढ्नुपर्ने, बाहिर घुम्न नजा, जसरी भए पनि परीक्षामा उच्च अंक ल्याउनुपर्ने, विज्ञान र स्वास्थ्य विषयलाई करिअर बनाउनुपर्ने, बाह्य वातावरणप्रति आकर्षण नहोस् भनेर कम्प्युटर आइप्याडजस्ता विद्युतीय सामग्रीमा मोह बढाइदिने कार्य धेरै अभिभावकले गरिरहेको पाइन्छ । यस स्थितिले किशोरावस्थामा पुग्दानपुग्दै सकारात्मकभन्दा बढी नकारात्मक सिकाइले जरो गाडिसकेको हुन्छ । नकारात्मक आदत र सिकाइलाई निरुत्साहित गर्न पुनः आमाबुवा अझ बढी नकारात्मक एवं आक्रामक बन्न थाल्छन् । किनभने अधिकांश आमाबुवा केटाकेटीको मनोविज्ञान र उमेरअनुसार हुर्काउने सीपबाट अनभिज्ञ हुनुहुन्छ, फलस्वरूप केटाकेटी हचुवाको भरमा हुर्किरहेका हुन्छन् ।

एउटा यस्तै परिवारको जीवनकथा छ, जो आफू केटाकेटीको भविष्यप्रति बढी नै चिन्तित, आदर्श एवं अत्यन्त मेहनती आमाबुवा हुन् । गाउँबाट सहरसम्म ठूलो संघर्ष र मेहनतबाट झरेका थिए । काठमाडौंमा एउटा सानो कोठा भाडामा लिएर आफै‌ पकाउने, भाँडा माझ्ने, फेर्ने लुगा पनि दुईतीनवटा मात्र भएको, चिसोले ठिहिर्‍याउँदै गर्दा पनि कलेजमा पढाइमा लगनशील भएको, सानोतिनो जागिर, जता जे पाइन्छ उतै काम गर्ने, कहिले ट्युसन पढाउँदै जीवन चलाएको, आज उच्च ओहदामा पुग्न सकेको कहानी छोराछोरीलाई सुनाउँदा सुनाउँदा उनीहरूले आफ्ना इच्छा र सपनालाई छोरामा लादे । आफूजस्तै मेहनती बन्ने दबाब दिँदादिँदै एक दिन छोरालाई मापसे गरेकाले समातेर राखेको खबर आयो ।
१५ वर्षीय छोरा नशामा लिप्त भई साथीको मोटरसाइकल गुडाउँदै गर्दा लाइसेन्ससमेत नभएको अवस्थामा भेट्न जाँदा उनीहरूले टेकेको जमिन नै तल भासिँदै गएको र वाक्य नै बन्द भएको पीडा सुनाए ।

अर्का एक होटल व्यवसायी, जसको एउटामात्र छोरा उमेर नपुग्दै धेरै कुराको अनुभव लिन पुगेका रहेछन् । कम्प्युटरमा पोर्नोग्राफी हेर्दै हस्तमैथुनको लतमा परेका, विस्तारै पढाइ लेखाइभन्दा बाहिरी दुनियाँप्रति आकर्षित भएका, मायाप्रीति, नशालु पदार्थका पारखी बन्दै गएका । जब छोरा बिग्रँदै गएको थाहा पाए, घरमा युद्ध मच्चिन थाल्यो । आवेगमा छोराले विषादी खाएपछि महिनौंसम्म अस्पतालको आईसीयूमा उपचार गराउँदै छोराको जीवनमरण कुरिरहेका छन् । यी त प्रतिनिधि घटनामात्र हुन् । हिजोआज कलेज, स्कुलका कक्षाकोठादेखि लिएर सडकका पेटी, गल्ली, मन्दिर, खुला मैदान, होटल, क्याफे जताततै युवा जमात नशामा मातेको देखिन्छ । कलेजमा पढाउने क्रममा न्यून वर्गको तुलनामा हाइफाई वर्गका किशोरकिशोरी नै नशाका पारखी भएका देखिन्छन् ।

एक दिनको कुरो हो, जब म ‘असामान्य मनोविज्ञान’ पढाउँदै थिएँ, झन्डै आधा घन्टा ढिलो गरी एक किशोरी कोठामा प्रवेश गरिन् । मैले ‘किन ढिलो ? ’ भनी प्रश्न गर्दा उनले भनिन्, ‘म्याम मलाई ओसीडी भएको छ, म ७ बजेदेखि बाथरुममा बिजी थिएँ । झन्डै डेढ घन्टापछि बाहिर आउँदा ढिलो भयो ।’ म त्यही विषयको शिक्षक अनि परामर्शदाता, अब मेरो दिमागमा प्रश्न आयो किन ओसीडी भयो त ? उनीसँग नजिकिँदै जाँदा उनले त ७ कक्षादेखि चुरोट, गाँजा, विभिन्न प्रकारका मानसिक रोगीलाई दिइने औषधिको अनुभव लिँदै आएको थाहा भयो ।
त्यही क्रममा मानसिक समस्याको लक्षणले दुःख दिन थालेछ । एकोहोरो बन्ने, मानिसको जमघट मन नपराउने, एक्लै बस्न मन पराउने, के के कुराको शंकाउपशंका लाग्ने, जस्तो अरूले आफ्नो मनका कुरा बुझिदिएका, आफूमाथि कुनै टुनामुना गरिदिएका, आफ्नो सोच नै परिवर्तन गरिदिएका, निद्रा राम्रो नपर्ने र डरलाग्दा सपना आउने, खाना खान मन नलाग्ने, आफूलाई कसैले माया नगर्ने, नबुझ्नेजस्ता सोचले दैनिक जीवनका प्रक्रियालाई नै गम्भीर रूपमा प्रभावित पारेका रहेछन् । उनी यस्तो अवस्थामा पुग्दासमेत उनका आमाबुवालाई पत्तो थिएन । छोरीको दैनिकी कसरी चल्दैछ भन्ने कुनै हेक्का थिएन ।

अहिलेको समाज र सामाजिक संरचनाले आमाबुवा र छोराछोरीलाई दुई धारमा टुक्र्याइदिएको छ । किशोरकिशोरीमा आधुनिक जीवनशैली, स्वतन्त्रता, स्वकेन्द्रित एवं जिम्मेवारीबाट पन्छिन खोज्ने मानसिकता हावी हुँदै गएको छ । आमाबुवाको आफ्नै सोच छोराछोरीप्रति लादिरहेका छन् । अत्यधिक महŒवाकांक्षी पढाइ र अर्कोप्रतिको दबाब, अस्वस्थ प्रतिस्पर्धाले आमाबुवा र छोराछोरीबीचको सम्बन्ध चिसिँदै गएको छ । यसले किशोरकिशोरीले बाटो बिराउँदै गएका छन् । यो यथार्थलाई विश्लेषण गरी आफ्ना कमीकमजोरीलाई समयमै पत्ता लगाएर समयसापेक्ष व्यवहार गर्न सकेमा समस्यालाई अवश्य पनि व्यवस्थापन गर्न सकिन्छ । किनभने जन्मँदै कुनै शिशु बदमास, अटेरी र कुलत लिएर जन्मेको हुँदैन । तिनको लालनपालन र हुर्काउने पद्धतिमा भएको त्रुटिका कारणले नै समस्या निम्त्याउँछ ।
यसका लागि आमाबुवाले बुझ्नुपर्ने केही अत्यावश्यक कुराहरू छन्, जसले आफु र छोराछोरीबीच सुमधुर सम्बन्धको जग बसाल्नसक्छ र गलत आचरणप्रति किशोरकिशोरी आकर्षित हुनबाट बचाउन सक्छ ।

आमाबुवाको अभिभावकत्व

सानै उमेरदेखि आफ्ना केटाकेटीलाई उमेर र शारीरिक क्षमताअनुरूप जिम्मेवारी दिनुपर्छ । साथै जिम्मेवारी लिन सिकाउनुपर्छ ।

राम्रो काम र रुचिप्रति समर्थन र प्रशंसा गर्नुपर्छ ।

घरमा अनुशासन र नियम केटाकेटीलाई मात्र नभई परिवारका सबै सदस्यलाई लागू हुनुपर्छ । घरका सदस्यबीच झैझगडा, मनमुटाव र तनावलाई निरुत्साहित गर्नुपर्छ । यसले केटाकेटीको व्यक्तित्व विकासमा नकारात्मक असर पुर्‍याउँछ । आफ्नो रुचि र इच्छाले केटाकेटीको करिअर निर्माण गर्नुभन्दा केटाकेटीमा विद्यमान क्षमता र रुचिको वैज्ञानिक रूपले पहिचान गरी त्यसैअनुरूप करिअर निर्माणमा सहयोग पुर्‍याउनुपर्छ ।

अधिक छुट र नियन्त्रण दुवै स्वस्थ होइनन्, तसर्थ समयसापेक्ष आफ्ना व्यवहार र सोच निर्माण एवं परिवर्तन गर्नुपर्छ । हरेक दिन आफ्ना केटाकेटीसँग समय बिताउनुपर्छ । उनीहरूको कुरा सुन्ने र भावना बुझ्ने गर्नुपर्छ । उमेरअनुरूप आफ्नो सम्बन्ध स्थापित गर्नुपर्छ । गाली, धम्की र नकारात्मक टीकाटिप्पणी गर्नुभन्दा हौसला दिने, माया दिने, स्वस्थ तरिकाले नकारात्मक एवं सकारात्मक परिणाम आउने व्यवहारका बारेमा छलफल गर्नुपर्छ ।

उमेरअनुसार उनीहरूले निर्माण गरेका सामाजिक सञ्जाल र साथीहरूप्रति विशेष निगरानी राख्ने । गलत छन् भने पनि आफू आवेगमा नआईकन प्रेमले सम्झाउने । सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउने । जस्तै- संगीत, नृत्य, पेन्टिङ, खेलकुद आदि । तर, यस्ता क्रियाकलाप दक्षता विकास गराउने उद्देश्यले नभई उनीहरूलाई व्यस्त राख्ने र एकाग्रता बनाउने उद्देश्यले मात्र । तुलना र तौललाई कहिल्यै प्राथमिकता नदिने । आफ्ना केटाकेटीको स्वभाव र क्षमताबारे मनोविद्सँग परामर्श लिई त्यसैअनुरूप ससम्मान सहयोग गर्नुपर्छ ।

माथि उल्लिखित मार्गदर्शन आफूले अपनाउँदा अपनाउँदै पनि केटाकेटीमा कुनै समस्या महसुस हुन गएमा समयमै मनोपरार्मशदातासँग भेटेर आवश्यक छलफल गर्न हिच्किचाउनु हुँदैन । सबै आमाबुवा मनोविद् हुन सक्दैनन् । मनोविद्को आँखाले हेर्न सकिँदैन । तसर्थ बालमनोविद्सँगको सल्लाहले अपेक्षित परिणाम प्राप्त गर्न सकिन्छ ।

-लेखक त्रिचन्द्र कलेजकी प्राध्यापक एवं प्रमुख मनोविद् हुन् ।

साभार -अन्नपूर्णपोस्ट

अमेरकाबाट फर्केका प्रचन्डलाई डा.सुरेन्द्र के. सि.को खरो प्रतिक्रिया,हेर्नुहोस् पुरा भिडियो

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य