‘काठमाडौंमा अहिले केहीबेर हावाहुरी चल्न सक्छ, सचेत रहौं’
  • आर.एम.खबर/काठमाडौं नेपाल

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ राजधानीसहित आसपासका क्षेत्रमा हावाहुरी चल्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार केहीबेरअघिमात्र विकसित भएको प्रणालीका कारण काठमाडौंसहित मध्य नेपालमा हावाहुरीको सम्भावना देखिएको हो।

‘भर्खर विकसित भएको प्रणालीको कारण काठमाडौंलगायत मध्य भूभागका धेरै स्थान हावाहुरी तथा मेघ गर्जनसहित वर्षाले प्रभावित हुने देखिएकाले सतर्क रहन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

यसअघि शुक्रबार बिहान सबेरै राजधानीमा हावाहुरी चलेको थियो।

महाशाखाका अनुसार बिहीबार राति धनगढीमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा आएको हुरी नै हुरहुरिँदै शुक्रबार बिहान काठमाडौं आइपुगेको हो। उक्त हुरीले धनगढीमा दुई जनाको ज्यान गयो भने सयभन्दा बढी घाइते भए।

पूर्वी नेपाल र काठमाडौं आसपासका क्षेत्रमा अझै केही दिन मध्याह्नपछि हावाहुरी चल्नसक्ने महाशाखाले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक रामप्रसाद रेग्मी यसलाई ‘साविक मौसमी प्रक्रिया’ बताउँछन्।

काठमाडौंको भौगोलिक अवस्था, हावापानी र मौसमी प्रक्रियाबारे लामो अध्ययन गरेका रेग्मीले शुक्रबार सेतोपाटीसँग भने, ‘यहाँ चैतदेखि जेठसम्म यस्तो मौसमी प्रक्रिया रेकर्ड हुन थालेको तीन-चार दशक भइसक्यो। यो जलवायु परिवर्तनको असर वा नयाँ प्रक्रिया होइन।’

उनका अनुसार सलल बगेको पानी जसरी भिरालो ठाउँ आउनेबित्तिकै उर्लिंदै झर्छ, हावा पनि अग्लो डाँडाबाट उपत्यकाभित्र झर्दा त्यसैगरी उर्लिन्छ।

काठमाडौं उपत्यकामा यसरी हावा ‘उर्लिने’ केही क्षेत्र छन्, जहाँ हुरीको प्रभाव बढी पाइएको उनको अध्ययनले देखाएको छ। त्यो महाराजगन्जदेखि पुल्चोकसम्मको क्षेत्र हो।

बाहिरबाट आएको हावा जब चन्द्रागिरि र नागार्जुन डाँडाबाट उपत्यकाभित्र छिर्छ, त्यसको वेगले निश्चित बाटो समात्छ। बहनलाई त हावा सबैतिर बहन्छ, तर त्यसको वेग बाटोमा पर्ने महाराजगन्ज, गौशाला, रत्नपार्क, थापाथली, पुल्चोक, जावलाखेल र भैंसेपाटीसम्मको क्षेत्रमा धेरै हुन्छ।

उनका अनुसार यस्तो हुरीले समेट्ने चौडाइ आधा किलोमिटरदेखि एक किलोमिटरसम्म फैलिएको पाइएको छ। त्यही भएर कहिलेकाहीँ पुल्चोकमा बेस्मारी हुरी आउँदा मंगलबजारमा त्यसको प्रभाव कम हुनसक्ने उनी बताउँछन्।

‘पश्चिमबाट आएको वायु काठमाडौं उपत्यका छिर्दा धेरैजसो यही क्षेत्रमा ‘ल्यान्ड’ हुन्छ। उपत्यकालाई घेरेका डाँडाबाट छिर्ने हावा सुरूमा हुत्तिएर तल झर्छ, अनि विस्तारै फराकिलो हुँदै अलिकति माथि उठ्छ। यो बहावलाई हामी ‘हाइड्रोलिक जम्प’ भन्छौं,’ रेग्मीले भने।

यसरी हावा छिर्दा सुरूको झट्का पर्ने क्षेत्रमा क्षतिको सम्भावना धेरै हुने उनले बताए। पशुपतिदेखि रत्नपार्क, थापाथली,‍ पुल्चोक आसपासका क्षेत्रमा हावाहुरीले रूखहरू ढाल्नुको कारण यही हो।

‘दुई/तीन दशकअघि त यी क्षेत्रमा हावाले सानातिना घरहरू पनि भत्काएको थियो। चार जनाको ज्यान गएको तथ्यांक छ। अचेलका संरचना बलियो भएकाले जोखिम कम भएको मात्र हो,’ उनले भने, ‘नभए हुरी पहिलेकै जस्तो हो।’

सामान्यतया चैत-वैशाखमा हावाहुरी मात्रै आउँछ भने मनसुन सुरू हुनुअघि छिटपुट पानी पर्छ। जुन १० तारिखबाट मनसुन सुरू हुने मानिए पनि जलवायुको अवस्थाअनुसार कहिलेकाहीँ ढिलोचाँडो हुन्छ।

मनसुन सुरू हुनुअघिको यो याममा विशेषगरी दिउँसो तापक्रम धेरै भएको दिन साँझ चारदेखि साढे छ बजेसम्म यस्तो हुरी चल्ने रेग्मीको भनाइ छ।

दिउँसो चर्को घाम लागेर जब जमिन हपहप तात्छ, तातेको जमिनबाट तातो हावा माथि जान्छ। त्यही हावा आकाशमा पुगेर चिस्सिएपछि बादल बन्छ र पानी पर्छ। त्यही बेला वायुमण्डल अस्थिर भए मेघ गर्जंदै बिजुली चम्किन्छ। यसले हावाहुरी ल्याउने बादल बनाउँछ।

यो काठमाडौंमा हावाहुरी आउने स्थानीय कारण हो। यसबाहेक भारतबाट आउने वायुले हाम्रो हावापानीमा असर गर्छ।

भारतमा बंगालदेखि आसामसम्मको तटीय क्षेत्र यो बेला निकै तातो हुन्छ। बंगालको खाडी हुँदै आउने वायुले सबभन्दा पहिले नेपालको पूर्वी र मध्य भागमा प्रभाव पार्छ। हावाको शक्ति धेरै भए त्यसको प्रभाव देशभरिको मौसममा पर्न सक्छ।

गत चैत मध्यमा बारा-पर्सामा बलियो हुन्डरी आएको थियो। दुई सय किलोमिटर प्रतिघन्टाको अनुमान गरिएको हुन्डरीले २८ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। जल तथा मौसम विज्ञान विभागले उक्त हुन्डरी ‘टोर्नाडो’ भएको जनाएको छ।

अहिलेको हावाहुरी सामान्य भए पनि सावधान भने रहनुपर्ने मौसमविद् सुझाउँछन्।

कत्रो हुरी आउँछ यकिन हुँदैन। हलुका सामान उडाउन सक्छ। रूखहरू ढल्न सक्छन्। धूलो धेरै उड्ने भएकाले बाटोमा हिँड्दा र सवारीसाधन चलाउँदा होस् पुर्याउन उनीहरू सुझाउँछन्।

‘ठूलै हुरी आए पनि उपत्यकामा सानो-सानो क्षेत्रमा क्षति हुन्छ। सबैतिर एकै गतिको हुँदैन, तर बलियो झट्का दिन्छ,’ रेग्मीले भने, ‘यहाँको भूबनोटअनुसार हावा अग्लो-होचो ठाउँ हुँदै छालझैं बहन्छ।’

यही हुरीको असर तराईमा भने धेरै हुनसक्छ।

‘तराई समथर हुन्छ, पहाड उबडखाबड। हावाहुरी समथर भूमिमा धेरै फराकिलो क्षेत्रमा फैलिन्छ। सललल बग्न पाउने हुँदा यसले ठूलो क्षेत्र ओगट्छ। तराईमा धेरै क्षति हुनुको एउटा कारण यो पनि हो,’ उनले भने।

  • गलबन्दी गित हिट हुदा पनि किन दुखि छन प्रकाश सपुत ?दर्सकलाइ हात जोडेर यस्तो भने पुरा भिडियो :

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य