भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीलाई नेपाल भ्रमण गराउने तयारी !यस्तो छ आउनुको मुख्य उदेश्य
  • आर.एम.खबर/काठमाडौं नेपाल

नेपाल सरकारले भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमण गराउने तयारी गरिरहेको छ । नेपालको औचापरिक भ्रमणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस.जयशंकरलाई सरकारले छुट्टा छुट्टै निमन्त्रणा पठाइसकेको हो ।

यद्यपि यो कुरालाई नेपाल र भारत दुवै पक्षले सार्वजनिक गरेको छैन । दुवै पक्ष भन्छ, यसबारेमा हामीलाई कुनै आधिकारीक जानकारी छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल र राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले भ्रमणको बारेमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए । त्यस्तै, भारतीय दुतावासका प्रवक्ता अभिषेक दुवेदीले पनि आफूलाई भ्रमणबारे औपचारिक जानकारी नरहेको बताए ।

तर, स्रोत भन्छ, ‘तीनैजनालाई छुट्टा छुट्टै नेपालको भ्रमण गराउने तयारी नेपाल सरकार र नेपालस्थित भारतीय दुतावसाले आन्तरिक रुपमा थालिसकेको छ ।’ भारतीय राष्ट्रपति कोविन्दलाई नेपालको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा समेत गइसकेको छ । तर यसबारेमा राष्ट्रपति कार्यालयले केही बताउन चाहेन ।

दुतावास स्रोत भन्छ, ‘सम्भवतः राष्ट्रपति कोविन्दले यही जुलाईमा नेपालको भ्रमण गर्नुहुनेछ । यदि जुलाईमा भएन भने केही समयका लागि भ्रमण नहुनसक्छ । आन्तरिक रुपमा तयारी चलेपनि नयाँ दिल्लीबाट दुतावासलाई आधिकारिक जानकारी केही पनि आएको छैन । यस्तो उच्चस्तरको भ्रमण बारेमा तयारीका लागि प्रायः एक हप्ताअघि मात्र आधिकारीक जानकारी आउँछ ।’

यता, प्रधानमन्त्री मोदीले सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्ने बताइएको छ । चुनाव जितेपछि एकपटक पशुपतिको दर्शन गर्ने उनले इच्छा जनाएका छन् । पशुपतिको दर्शन गर्नका लािग भएपनि उनी नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो । उनी नेपाल भ्रमणमा आउँदा भारतको सहयोगमा तयारी भएको जयनगर–कुर्थासम्मको रेल सेवा र रक्सौलदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको उद्घाटन गर्ने पनि तयारी भइरहेको स्रोतले जनाएको छ ।

यी दुईवटै परियोजनाको काम द्रुतगतिमा भइरहेको छ । भारतको तर्फबाट रेलका लागि हुने सबै काम भइसकेको छ, जे काम बाँकी छ त्यो नेपालकै तर्फबाट बाँकी रहेको छ । नेपालले आफ्नै लगानीमा रेल चलाउने भनेको छ । रेलको डब्बा र इञ्जिन किन्ने प्रकृया पनि शुरु गरिसकेको छ । रेल सुचारु हुन समय लाग्ने भए पाइपलाइन मात्र उद्घाटन गर्न पनि मोदी आउने स्रोतको दावी छ तर नेपाल आउने मुख्य काम पशुपति दर्शन नै हो ।

मोदीको शपथग्रहणमा भारत गएको बेला प्रधानमन्त्री केपी शर्मा आलीले उनलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसपछि पनि मोदीलाई सरकारको तर्फबाट नेपाल भ्रमण गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले दिएको निमन्त्रणाका आधारमा उनी नेपाल भ्रमण गर्ने स्रोतले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणमा आउन पुनः खबर पठाएका समाचार प्रकाशित गरिसकेका छौँ ।

त्यस्तै, नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि जयशंकरलाई निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकको मिति तय नभए पनि जुलाईको अन्तिम वा अगस्तको पहिलो हप्तासम्मको बैठक हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

जयशंकरले विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्र मन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर, उनले नेपाल नभएर भुटानबाट आफ्नो विदेश भ्रमणको शुरुवात गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्री ज्ञवालीले पुनः जयशंकरलाई निमन्त्रणा पठाएको बताइएको छ ।

विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने भनिएको थियो । तर, भारतमा चुनाव भएको कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।

असार ३ गते भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेशी मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर समय तय गर्न आग्रह गरेका थिए । यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बुझिएको छ ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले पनि विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि भारतीय विदेशमन्त्री आउने कुरा भए पनि हालसम्म त्यसको टुङ्गो नलागेको बताए । जयशंकरले मन्त्रीको शपथ लिएपछि बधाई पत्र पठाउँदा नेपाल भ्रमणका लागि आग्रह गरिएको उनले बताए ।

नेपाल भारतबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा नेपालस्थित भारतीय दुतावास र परराष्ट्र मन्त्रालयको बीचमा निरन्तर छलफल चलिरहेको बुझिएको छ । तीनैजनाको भ्रमण भए कुन–कुन विषयमा छलफल गर्ने र के–के कुरामा सहमति गर्ने भन्ने विषयमा आन्तरिक रुपमा दुई पक्षबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य