१४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका आरोपी १२ वर्षपछि पक्राउ
  • आर.एम.खबर/काठमाडौं नेपाल

बुटवल– १४ जनाको ज्यान जाने गरी भएको कपिलवस्तु घटनाका फरार आरोपी १२ वर्षपछि पक्राउ परेका छन्।

२०६४ भदौ ३० गते शिवराज नगरपालिकाको कुदरभेटवाका मुस्लिम अगुवा मोइद खाको अज्ञात समुहले गोली हानी हत्या गरेपछि हिंसा भड्किएको थियो। घटनामा नेता खाँसहित १४ जनाको ज्यान गएको थियो। विभिन्न स्थानमा आगजनी, लुटपाट, तोडफोड गरी करौडोको क्षति भएको थियो।

सोही घटनामा संलग्न भएको आरोपमा तीन जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। शिवराज नगरपालिकाको विसनपुरका भदई यादव, जगदीश गुप्ता, चिन्कु मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेयले बताए।

पक्राउ परेका तीन अभियुक्त कपिलवस्तु घटनाका आरोपी रहेको उनले बताए। नेता खाको हत्यापछि उनीहरुले देवीपुर गाउँमा आगजनी गरेर फरार भएका थिए।

सोही घटनाले हिन्दु र मुस्लिमबीचमा विवाद बढेपछि बुटवलसम्म मुस्लिम र हिन्दूबीचमा अराजकता फैलिएको थियो। हिन्दुले मुस्लिमका मस्जिद जलाएका थिए भने मुस्लिमले हिन्दूका बस्तीमा आक्रमण गरेका थिए।

उनीहरु फरार भएपछि अदालतले उनीहरुविरुद्धको मुद्दा मुल्तबी राखेको थियो। पक्राउ परेका उनीहरुलाई अदालतमा पठाईएको प्रहरी नायब उपरिक्षक पाण्डेयले बताए। घटनापछि विसनुपुर गाउँका एक सय बढी परिवार विस्थापित भएका थिए।

विभिन्न पक्षको लामो पहलपछि मात्रै हिन्दु र मुस्लिमबीच भाईचाराको सम्बन्ध स्थापित भएको थियो। त्यसपछि विस्थापितहरुलाई गाउँमा पुनःस्थापना गरिएको कपिलवस्तु घटना पिडित संघर्ष समितिका संयोजक माधव पोख्रेलले बताए।

घटनापछि सरकारले लोकेन्द्र मल्लीकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। तर अझैसम्म समितिको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक नहुँदा अझैसम्म पिडितहरुले न्यायको अनुभूतिगर्न नपाएको उनले बताए। ‘प्रतिवेदन सार्वजनिक गर्न भन्दै हामी धेरै धायौँ तर सफल हुन सकेनौँ’, उनले भने।

सरकारले मृतक परिवार र घटनाका पिडित परिवारलाई राहत स्वरुप केही रकम दिए पनि न्यायको अनुभूति गर्न नसकेको उनले बताए। ‘१२ वर्षमा धेरैवटा सरकार फेरिए तर हाम्रो माग सम्बोधन गरिएन, वर्तमान दुई तिहाईको सरकारले प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्छ’, पोख्रेलले भने।

सो घटनामा १ हजार ५४ घर, २ सय १६ सवारी साधन गरी २० करोड भन्दा बढीको क्षति भएको थियो।

  • धर्तीमाताको ज्यान मार्ने प्रयाश ! मार्न खोज्नेकै मृत्यु ~सत्य कुरा हेर्नुहोस् भिडियो सहित

यस आर.एम.खबर डट कमको हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

यसमा तपाइको मत

बाट अन्य